चिकित्सा शिक्षामा फड्को : नेकपा

0
24

काठमाडौं १२ माघ ।  नेकपाका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको शुक्रबारको बैठकले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा शिक्षाको सुधारको लागि आन्दोलन गर्ने विद्यार्थी संगठन, चिकित्सकर पटक पटक अनशन बसेका डा.गोविन्द केसीको भावनालाई समेत समेटिएको बताएका छन् ।

‘चिकित्सा शिक्षा क्षेत्रमा यसले फड्को मारेको छ । त्यो क्षेत्रमा देखिएको विकृति विसंगतिलाई सदाको लागि अन्त्य गरेको छ, संसद् बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘पैसा भएर पनि नेपालमा पढ्न नपाएर विदेशिनु पर्ने नेपाली विद्यार्थीको कथा अब अन्त्य हुनेछ,’

सांसद भट्टराईले एकैपटक पैसा तिर्न नसकेर घरबारी धरौटी राखी ब्याज लिएर छोराछोरी पढाउनु पर्ने अभिावकको कथा मिडियामा आउने अवस्थासमेत नआउने दाबी गरे । उनले कांग्रेसले संसद्‍मा गरेको विरोधको नेकपाले सम्मान गर्ने बताए । ‘संसद्‍भित्र गर्न पाउने अधिकार उहाँहरुको छ,’उनले भने, ‘हामी सम्मान गर्छौं ।’

विधेयक पारित भएपछि गोविन्द केसीको जित भएको उनले बताए । ‘तपाईको जित भएको छ । सत्याग्रहबाट निस्कनुस् । तपाईको कार्यक्षेत्रमा खुशीयाली मनाउनुस्,’ उनले भने, ‘अब चिकित्सा शिक्षाको विषयलाई लिएर गोविन्द केसीले यस्तो कष्टकर आन्दोलन गरिरहनु नपर्ने अवस्था हामीले ल्यायौं । गोविन्द केसीमाथि राजनीति गर्ने दिनहरु पनि समाप्त भए ।’ यो विधेयकले नेपाली जनता र नेपालका व्यवसायीलाई फाइदा भए पनि विदेशी विश्वविद्यायललाई घाटा हुने उनले बताए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारको आवाजलाई कानुनी रुपमा मूर्त दिन सफल भएको बताए । ‘अब यसलाई कार्यान्वयन गरेर देखाउनु पर्ने हुन्छ । प्रक्रियागत ढंगले पनि सही दिशामा छौं । अहिलेसम्म डा. केसी र अरुले राखेको मागलाई यसलाई समटिएको छ,’ उनले भने, ‘डा. केसीलाई पनि धन्यवाद दिन चाहन्छु । संसद्‌को गरिमालाई पद्धतिलाई सम्मान गर्दै अनशनलाई फिर्ता लिएर कार्यान्वयनको वातारण बनाइदिनुस् ।’

मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित केसीको माग आफूले जिम्मा लिने बताए । ‘राजनीतिक मुद्दा छन् । सबै जिम्मेवार निकायकोले संवाद गर्नुपर्छ । उहाँसँग वार्ता जतिखर पनि गर्न तयार छौं,’ उनले भने,‘अनशन बस्ने उहाँको जीवन रक्षाको लागि जस्तो पायो त्यस्तो कुरामा हस्ताक्षर गर्ने लागू नगर्ने दिशामा हामी जाँदैनौं ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्