शिक्षक छनोट परीक्षा परिवर्तन गर्न आयोगको सुझाव

0
43

काठमाडौं/१० माघ–उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनमा शिक्षक छनोटका लागि लिइने परीक्षा परिवर्तन गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनमा विगतमा शिक्षकको कक्षा प्रदर्शनलाई ऐच्छिक बनाइएकोमा अबदेखि व्यावहारिक कक्षा प्रदर्शनलाई अनिवार्य बनाउन उल्लेख छ । यसैगरी, आधुनिक प्रविधि अपनाएर शिक्षकको शिक्षण प्रतिभा र उत्प्रेरणस्तर जाँच्न सक्षमता, प्रतिभा तथा उत्प्रेरणा परीक्षण लिने व्यवस्था अनिवार्य बनाउने प्रतिवेदनमा भनिएको छ ।
आयोगले राहत र अनुदान कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्न सुझाव दिइएको छ । प्रतिवेदनमा शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धात्मक परीक्षामार्फत छनोट गरी दक्ष र उत्प्रेरित सबैलाई आगामी ३ वर्षभित्र स्थायी शिक्षक दरबन्दीमा रुपान्तररित गर्न सुझाव दिइएको हो ।
प्रतिवेदनमा भनिएको छ,“तत्कालीन आवश्यकता पूर्तिका लागि बढीमा एक शैक्षिक सत्र अवधिका लागि मात्र करारमा शिक्षक लिने तथा शिक्षक सेवा आयोगबाट स्थायी विज्ञापनको नतिजा प्रकाशन गर्दा वैकल्पिक सूची पनि प्रकाशन गर्ने र वैकल्पिक सूचीमा परेकाहरुबाट मात्र करार शिक्षक भर्ना गर्ने व्यवस्था गर्ने ।”
प्रतिवेदनमा प्रतिस्पर्धामा उच्च अंक ल्याएका उम्मेदवारलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा रिक्त दरबन्दीमा सोझै बढीमा १ वर्षका लागि करारमा नियुक्त गर्न सक्ने नीतिगत व्यवस्था गर्न उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्