पाटन र भक्तपुरभन्दा किन सुस्त भयो हनुमानढोकाको पुनर्निर्माण ?

0
69

काठमाडौं । पाटन र भक्तपुरभन्दा सुस्त गतिमा पुनर्निर्माण भइरहेको क्षेत्र हो, हनुमानढोका दरबार क्षेत्र ।

पुरातत्व विभागका अनुसार अझै पनि यहाँका क्षति पुगेका केही सम्पदा कसले बनाउने भन्ने टुंगो लागेको छैन ।

यहाँ भूकम्पका कारण क्षति पुगेका थुप्रै ऐतिहासिक सम्पदा छन्, जसमध्ये कतिपयको पुनर्निर्माणको काम भर्खर शुरु भएको छ भने केहीको मात्र पुनर्निर्माण भईसकेको छ । विभाग स्रोतका अनुसार भइरहेकै कामको गति पनि सन्तोषजनक छैन ।

धर्म, संस्कृति, जात्रा, पर्व तथा त्यससँग सम्बन्धित प्राचीन मूर्ति तथा मन्दिरको संगमस्थल हो हनुमानढोका क्षेत्र । अनुसन्धाता तथा अन्वेषकका लागि हनुमानढोका क्षेत्र जीवन्त संग्रहालयका रुपमा मानिन्छ ।

यहाँ मल्लकानीन सम्पदा मात्रै हैन, शाह कालका राजाहरुले निर्माणका गरेको केही सम्पदा पनि छन् ।

यो क्षेत्रमा शाहकालीनभन्दा पुराना सम्पदाहरुको बाहुल्यता छ । हनुमान ढोका दरबार क्षेत्र मूर्त मात्रै हैन, अमूर्त सम्पदाको पनि प्रदर्शनस्थल हो ।

दरबार क्षेत्रभित्र प्रमुख रुपमा इन्द्रजात्रा पर्व र १२ वर्षे पचली भैरव जात्रा चल्छ । अरु धेरै सांस्कतिक कर्महरु यहाँ हुन्छन् ।
यहाँ काष्ठमण्डप, गद्दी बैठकजस्ता महत्वपूर्ण मठमन्दिरसहितका सम्पदा थिए र छन् । यहाँका सम्पदालाई ०७२ को भूकम्पले खतरामा पार्‍यो ।

हनुमानढोका दरबार संग्राहालय विकास समितिका अनुसार भूकम्पले दरबार क्षेत्रका ९ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २० मन्दिरमा आंशिक क्षति पुर्‍याएको थियो ।

विभाग भने स्रोत जुटाएर यसबाहेक अरु सम्पदाको पनि मर्मत स्म्भार गर्नुपर्ने बताइरहेको छ ।

तीन वर्ष बित्नै लाग्दा भूकम्पमा क्षति पुगेका मध्ये ११ वटा सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले बताए ।

यसै महिनामा विभागबाट अवकास लिएका पूर्व महाननिर्देशक भेषनारायण दाहाल हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको काम सोचेअनुरुपको गतिमा अघि बढाउन नसकिएको स्वीकार्छन् ।

‘यहाँ सम्पदा ठेक्कामा लगाउन पाइँदैन भनेर स्थानीयबाट विरोध भयो, सार्वजनिक खरिद ऐनका कारण हामी अलमलियौं, अन्य दरबार क्षेत्रमा भने स्थानीयबासी र तहले कामको निगरानी गर्ने गरी ठेकेदारमार्फत नै काम अघि बढ्यो,’ उनले भने, ‘यहाँ पुनर्निर्माणका लागि एकैपटक स्रोत पनि जुटेन । अब विस्तारै काम अघि बढेको छ ।’

भक्तपुर दरबार क्षेत्रमा नगरपालिका आफैंले नेतृत्व लियो भने ललितपुरमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले महानगरपालिकालाई विश्वासमा लिएर काम गर्‍यो ।

पाटन दरबार क्षेत्रमा ६ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने १५ वटामा आंशिक क्षति पुगेको थियो ।

जसमध्ये कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, चार नारायण, हरि शंकर मन्दिर, बहादुर शाह भवनको पुनर्निर्माण सकिएको छ ।
यस्तै सुन्दरीचोक भवनको पूर्वी भाग र मूलचोकको भवन, विश्वेश्वरको मन्दिर, मणिमन्डपका दुईओटा सत्तलको पुनर्निर्माण सकिएको छ ।

पाटन दरबारका महत्वपूर्ण मानिने भिमसेन मन्दिर, पुरानो अदालत भवन र आगम घरको पुनर्निर्माण बाँकी रहेको ललितपुर महानगरपालिकाको सम्पदा विभागकी प्रमुख चन्द्रशोभा शाक्यले जानकारी दिइन् ।

भक्तपुर दरबारका ठूला–साना गरी १६ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएको थियो । जसमा ६ वटा भक्तपुर नगरपालिका आफैंले पुनर्निर्माण गरिसकेको छ ।

पुरातत्व विभागले जिम्मा लिएको ५ वटा मध्ये एउटा पुनर्निर्माण सकिएको छ भने बाँकी चार वटामा पनि अन्तिम चरणको काम भइरहेको भक्तपुर नगरपालिकाको सम्पदा उपशाखाका इञ्जिनियर सुर्य भक्त खर्बुजाले जानकारी दिए ।

भक्तपुर दरबारको प्रवेशद्धार, केदारनाथ मन्दिर, श्री बिक्रमनारायण मन्दिर, शंकर नारायण मन्दिर, हरिहरनारायण मन्दिर, सिद्धीलक्ष्मी मन्दिरको पुनर्निर्माण सकिएको छ ।

बधशाला दुर्गा मन्दिर, तब सत्तल, शिलु महादेव, विश्वरुपा मन्दिरको पुनर्निर्माण चलिरहेको छ भने राष्ट्रिय चित्र संग्राहालय पुरानो नगरपालिका भवनको पुनर्निर्माण बाँकी रहेको खर्बुजा बताउँछन् ।

काठमाडौंमा भने बल्ल हनुमान ढोका दरबार क्षेत्रमा पुनर्निर्माणको अन्योल चिरिँदै जान थालेको छ ।

ठडिएनन् नौतले दरबार र बुर्जा

वसन्तपुरको नौतले दरबार चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

भूकम्पले क्षति पुर्‍याएको दुई वर्षपछि ३१ साउन २०७४ मा नौतले दरबार र लोंहचोकको तीन बुर्जाको शिलान्यास गरी पुनर्निर्माण थालिएको थियो ।

झण्डै १६ करोडको लागतमा ३० जुलाई २०२२ भित्र काम सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको छ । ०७२ को भूकम्प र त्यसपछिका पराकम्पले नौतले दरबारमा ठूलो क्षति पुर्‍याएको थियो ।

दरबारको माथिल्लो तीन तला भूकम्पले भत्किएको छ भने जगदेखि ६ तलासम्म क्षति भएको छैन ।

चीनले नौतले दरबारसँगै लोंहचोकलाई मौलिक शैलीमै निर्माण गर्नेछ । त्यसका लागि पुरातत्व विभागले पनि सहयोग, नियमन गरिरहेको छ ।

अहिले छाउनीस्थित राष्ट्रिय संग्रहालयमा नौतले दरबारको पुनर्निर्माणका लागि आवश्यक काष्ठकला, टुँडाल कुँद्ने काम भइरहेको छ ।

दरबारमा प्रयोग हुने काठमा साना–साना कलाकृतिहरु कुँद्नु पर्ने भएकाले राष्ट्रिय संग्रहालयमा काम भइरहेको हनुमानढोका दरबार संग्राहालय विकास समितिकी निर्देशक अरुणा नकर्मीले जानकारी दिइन् ।

‘दरबारका पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्ने काम छाउनीमा भइरहेको छ’, उनले भने । पुरातात्विक महत्वको नौतले दरबारको तीन तला भूकम्पले भत्किएको थियो ।

चीनबाट आएका विज्ञ एवं प्राविधिक समूहले ६ महिना लगाएर नौतले दरबारको पुरानो काष्टकलाको अध्ययन तथा अनुसन्धान गरेका थिए ।

क्षति भएको निकै पछि पुनर्निर्माण थालिएकाले नौतले दरबार र लोंहचोकले अझै पुरानै स्वरुप पाइसकेको छैन ।

तर, काठमा कलाकृति कुँद्ने नै मुख्य काम भएकाले नौतले दरबारको जिर्णोद्वार निर्धारित समयमै सकिने पुरातत्व विभागको दावी छ ।

नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले विस १८२६ मा नौतले दरबारको निर्माण गराएका थिए । आधुनिक नेपाल नबन्दै विशिष्ट कला र शीपले यो दरबार निर्माण भएको पाइन्छ ।

लोंहचोकका चार वटा बुर्जा

हनुमानढोकाको सुनको ढोकाबाट जाँदा आउने पहिलो नासल चोकको दक्षिणपूर्वी कुनामा लोंहचोक छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा जित हातपारे पश्चात हनुमानढोका दरवारलाई आफ्नो वासस्थान बनाए र यस ऐतिहासिक दरवारमा विभिन्न परिवर्तनहरु गराए ।

इतिहास पल्टाउँदै जाँदा पृथ्वीनारायण शाहकै पालामा लोंहचोकको स्वरुप बद्लिएको तथ्य भेटिन्छ । उतिबेलै लोंह चोकको चारैतिर विभिन्न ठाउँको नामले चार वटा बुर्जाहरु बनाइएको थियो ।

भूकम्पले क्षति पुर्‍याएको लोंहचोकको चौघेरा भवन पनि चीनले बनाउने जिम्मा पाएको छ । चोकको दक्षिणकुनाको बुर्जामा भूकम्पले क्षति पुर्याएकोमा त्यो बनिसकेको छ ।

चोकसँगै जोडिएको चौकोस भवन जहाँ संग्रहालय भवन जोडिएको बुर्जा (वसन्तपुर टावर) को पाखे छानो र भित्रपट्टिको भाग भत्किएकोमा त्यो बनिसकेको छ भने ‘भक्तपुर टावर’ नामाकरण गरिएको बुर्जाको छानाको तला भत्किएकोमा त्यो बन्दै छ ।
उक्त बुर्जाका कलाकृति कुँदेर जोड्ने काम भइसकेकाले अब ठड्याउन मात्र बाँकी छ । ‘ललितपुर टावर’ नामक बुर्जा पूर्वतिर केहि बांगिएकोमा त्यसलाई सोझ्याइ सकिएको छ ।

भूकम्पले ‘किर्तिपुर टावर’को पाखे छाना र भित्रपट्टि चर्किएकोमा त्यो बनाइसकिएको छ ।

पृथ्वी नारायण शाहले उपत्यकामा जित हाँशिल गरेपछि चारैतर्फको दृष्यावलोकनका लागि यी अग्ला बुर्जाहरु बनाएको अभिलेख छ ।

यी बुर्जाबाट पहिलो त सहरको रमणीय भ्यू देखिनुका साथै अर्कोतर्फ सुरक्षाका दृष्टिकोणले पनि चारैतिर नियमन गर्न सकिन्थ्यो ।
उबेला धेरै अग्ला घरहरु थिएनन् । त्यसैले यीनै बुर्जाबाट पनि पृथ्वीनारायण शाहले टाढा टाढासम्म आफ्नो नजर राख्थे । अब यी बुर्जाबाट धेरै टाढाको नजारा देख्न असम्भव नै हुन्छ ।

तर, ऐतिहासिक एवं पुरातात्विक सम्पदालाई पुरानै स्वरुपमा फर्काउन चाईनिज एकेडेमी अफ कल्चरल हेरिटेजका प्राविधिक टोलीले दोभाषेको मद्दतमा नेपाली कामदारमार्फत काम गरिरहेका छन् । भक्तपुर, किर्तिपुर र बुंगमति निवासी बुट्टाकर्मी यसमा खटिएका छन् ।

काष्ठमण्डपको जग बन्दै

भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ । भित्रि जगको काम सकिएको छ ।

अहिले बाहिरी जगको काम भइरहेको काठमाडौं महानगरपालिकाका तर्फबाट काष्ठमण्डपको नियमन गरिरहेका रविन्द्र पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काष्ठमण्डप जिर्णोद्वार समितिले काष्ठमण्डप बनाउँदै छन् ।

समिति गठन गरेर स्थानीयले नै काष्ठमण्डप बनाइरहेका हुन् । समितिले अहिले काष्ठमण्डपको जग उठाउने काम गरिरहेको छ ।
यसको पुनर्निर्माण लागत झण्डै १८ करोड अनुमान गरिएको पौडेलले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाले हालसम्म दुई पटक गरेर साढे ५ करोड रकम समितिलाई हस्तान्तरण गरिसकेको छ ।

राजधानी काठमाडौंको नाम काष्ठमण्डपबाटै रहन गएको मानिन्छ । काष्ठमण्डपको निर्माण कहिले भयो भन्ने यकिन तथ्य छैन ।
तर, प्राचिन पाण्डुलिपी विस १२०० सालमा लिखित ‘नाम संगिती’मा समेत काष्ठमण्डपको उल्लेख रहेको हनुमानढोका दरबार संग्रहालय विकास समिति अभिलेखमा उल्लेख छ ।

तलेजु भवानी

हनुमानढोका संग्रहालय विकास समितिले तीनतले तलेजु भवानी मन्दिरको पुनर्निर्माण सकिसकेको छ । त्यसको आधारपेटीमा रहेका १६ वटा मन्दिरमा पनि क्षति पुगेमा त्यसको पनि पुनर्निर्माण भइसकेको छ ।

मल्लकालीन तलेजु भवानी मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिन्छ । मल्ल राजाहरुले तलेजु मन्दिरमा कुल पूजास्थल बनाएका थिए ।

तलेजु मन्दिर १ सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरवारको मुलचोकमा ल्याएर राखिन्छ ।

नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा लगिन्छ र दिनभर पुजा अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ ।
देगु तलेजुको पुनर्निर्माण अझै शुरु हुन सकेको छैन । भूकम्पअघि नै यसको बाहिरि भागको जिर्णोद्वारको काम भइरहेको थियो ।

तर, ०७२ को भूकम्पले मन्दिरको बाहिरी र भित्री भागमा आंशिक पुर्‍याएको थियो । भूकम्पको तीन वर्ष बित्न लाग्दा पनि यसको जिर्णोद्वार हुन सकेको छैन ।

गद्दी बैठक

गद्दी बैठक भवन पनि भूकम्पले क्षत विक्षत पारेको थियो । उक्त भवनको अमेरिकी राजदूत अध्यक्षकोषबाट जापानी मियामोटो रिलिफ कम्पनीले जिर्णोद्वार गरिसकेको छ ।

हनुमानढोका दरबारको दक्षिण पश्चित कुना कुमारी घरको अगाडि रहेको राणाकालीन वास्तु शैली भवन गद्दी बैठक चन्द्र शमशेरले १९०८ मा निर्माण गर्न लगाएको पाइन्छ । विदेशी विशिष्ट पाहुनाहरुसँग भेट गर्न चन्द्र शमशेर उक्त गद्दी बैठक बनाएका थिए ।

इन्द्रजात्राको समयमा उक्त गद्दी बैठकको वरण्डामा बसी राष्ट्र प्रमुख लगायत विशिष्ट ओहोदा एवं विदेशी गन्यमान्य व्यक्तिहरुबाट इन्द्रजात्राको अवलोकन गर्ने प्रचलन अहिले पनि छ ।

गद्दी बैठक र नौतले भवन बीचमा पर्ने ‘नियो क्लासिकल’ शैलीको भवनको पुनर्निर्माण संग्रहालय विकास समितिले गरिरहेको छ । यसको पहिलो चरणको काम सकिसकेको छ ।

त्रिभुवन स्मृति संग्रहालय

नासल चोकको पश्चिमतर्फ तीन तले भवनमा त्रिभुवन स्मृति कक्ष रहेको छ । राजा त्रिभुवनको जीवनीसँग सम्बन्धित सामग्रीहरु यो कक्षमा प्रदर्शनीमा राखिएका थिए ।

२००७ सालको जनआन्दोलन तथा प्रजातान्त्रिक प्राप्ति पछिका घटनाहरुलाई दर्शाउने सामग्रीहरु पनि यो कक्षमा राखिएका थिए ।
तर, ०७२ को भूकम्पले यो कक्षको भवनलाई निकै क्षति पुर्‍याएपछि हाल बन्द अवस्थामा छ । टेको दिएर अड्याइएको यो भवनको पुनर्निर्माण पुरातत्व विभागले गर्नेछ ।

त्रिभुवन स्मृति कक्षको विस्तृत अभिलेखिकरण, नक्साकंन, तस्वीर संग्रह गर्ने लगायतका काम सकिएको बताएको समितिले अहिलेसम्म पुनर्निर्माणको काम भने शुरु गरेको छैन ।

आगम्छेमा अन्योल कायमै

आगम मन्दिरको पुनर्निर्माणमा जापानले चासो देखाएपनि पुरातत्व विभागले दिएन । आगम मन्दिरको पुनर्निर्माणको लागि जापानका विशेषज्ञहरुले अध्ययन अनुसन्धानको काम भने सकिसकेका छन् ।

पुरातत्वले आगम्छे र पाटनको देगु तलेजुको पुनर्निर्माणका लागि जापानसँग सम्झौता गरेर ३३ करोड अनुदान लिएको थियो ।
तर, सम्पदा अभियान्ता, गुठियार र स्थानीयहरुले हनुमानढोका दरबार क्षेत्रको गोप्य मन्दिर मध्येको एक आगममा विदेशीलाई पस्न दिन नहुने आवाज उठाएपछि पुरातत्व विभाग पछि हटेको थियो ।

स्थानीयको विरोधपछि विषय संसदीय समितिसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आगमको पुनर्निर्माणअघि स्थानीय, गुठियार, सम्पदा अभियन्ताहरुसँग पनि छलफल गरेर अघि बढ्न निर्देशन दियो ।

त्यसपछि सरोकारवाला र पुरातत्वको बैठकले आगम मन्दिरको पुनर्निर्माण हनुमानढोका दरवार हेरचाह अड्डा र काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा गर्ने निर्णय गरेको थियो । तर, अझैसम्म यसको पुनर्निर्माण शुरु भएको छैन ।
शाहवंशीय राजाहरुको अवधिमा समेत बन्द रहेको उक्त मन्दिर अहिले सम्म पनि बन्दै छ ।

मल्ल राजाका कुल देवताका रुपमा पुज्ने गरिएको उक्त मन्दिरमा तान्त्रिक दीक्षा पाएका बाहेक अन्य कोही पनि छिर्न नहुने मान्यता छ ।

के–के पुनर्निर्माण सकियो ?

वैदेशिक संघ संस्थाहरुको आर्थिक सहयोगमा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रस्ट (केभीपीटी) महादेव मन्दिर, लक्ष्मी नारायण मन्दिर, सरस्वती मन्दिरको पुनर्निर्माण सकिसकेको छ ।

सन् १९९१ देखि काठमाडौं उपत्यकाभित्रका मठ–मन्दिरको जिर्णोद्वार गर्दै आएको केभीपीटीले परम्परागत निर्माण साम्रगी र प्रविधिलाई अपनाएर आफ्नो जिम्माको पुनर्निर्माण सकेको छ ।

यी मन्दिरको पुनर्निर्माणमा झण्डै २ करोड खर्च भएको संग्रहालय विकास समितिले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाले जिम्मा पाएको नगरा घर, सिंहसत्तल, गाहिटीको पुनर्निर्माण सकिएको छ भने अमेरिकी राजदूत कोषको सहयोगमा पंचमुखी हनुमान ढोका मन्दिर र मोहनकाली चोकको पश्चिम मोहडाको पनि पुनर्निर्माण भइसकेको छ ।

पुरातत्व विभागले गत भदौमै वसन्तपुरमा रहेको वंशगोपाल मन्दिरको पुनर्निर्माण सकेको छ । यसमा २ करोड ८३ लाख खर्च भएको विभागले जनाएको छ ।

विस १७०५ मा राजा प्रताप मल्लले आफ्ना रानीहरु रुपमति र राजमतीको सम्झनामा वंशगोपाल मन्दिर (च्यासिं देगः) बनाएका थिए ।

वास्तुकलाको दृष्टिकोणले निकै महत्वपूर्ण मानिने यो मन्दिर ०७२ बैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको थियो ।

वंशगोपाल मन्दिर नजिकैको शिव मन्दिर र दशावतार मन्दिर पनि बन्दैछ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) ले गोपीनाथ मन्दिर र जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्दैछ ।

युनेस्कोले गोपीनाथ मन्दिरको पुनर्निर्माणको थालिसकेको छ भने अर्को मन्दिरको काम शुरु भएको छैन ।

पुनर्निर्माणको लागत बढ्ने

२ वर्षअघिको अध्ययनमा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न झण्डै १ अर्ब रुपियाँ लाग्ने मुल्याकंन गरिएको थियो ।

दातृ निकाय र हनुमानढोका विकास समितिले हनुमानढोका दरवार क्षेत्रका सम्पदाको पुनर्निर्माण मूल्याकंन गरेका थिए ।

तर, पुरातत्व विभागका अधिकारीहरुका अनुसार एक अर्बमा सबै सम्पदाको पुनर्निर्माण सक्न असम्भव प्रायः छ । ठूला–साना धेरै सम्पदा भएकाले अनुमानित लागत बढ्न सक्ने अधिकारीहरु बताउँछन् ।

वैदेशिक सहयोगमा बनिरहेका बाहेक अन्य सम्पदा बाँकी दुई वर्ष भित्र नसकिने पक्का छ ।

तर, पुरातत्व विभागका निमित्त महानिर्देशक गौतम भने दुई वर्षभित्र हनुमानढोकाको सम्पूर्ण सम्पदाको पुनर्निर्माण सकिने दाबी गर्छन्

प्रतिक्रिया दिनुहोस्