टुटल र पठाओमाथि किन हमला ? निषेध गर्ने कि नियम बनाउने ?

0
74

माघ ३, काठमाण्डौ । नेपालमा व्यवसायिक रुपमै दुईपांग्रे मोटरसाइकलमा यात्रु ओसार्ने प्रचलन यसअघि खासै थिएन । सन २०१६ डिसेम्बरमा टुटल नामक मोबाइल एप्लिकेशनमा आधारित सेवा सुरु भयो । मोटरसाइकलमा यात्रुलाई छिटो, सहज र सस्तो सुबिधा दिइरहेको भनिएको सेवालाई प्रहरीले रोक लगाएपछि अहिले उक्त प्रकारका सेवालाई लिएर चौतर्फी बहस सुरु भएको छ ।

हुन त प्रधानमन्त्री केपी ओलीले टुटल र पठाओको सेवा बन्द नगर्न यातायात मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको छ । तर, नियमितरुपमा राम्रो सेवा दिइरहेको टुटल र पठाओलाई प्रहरीले किन रोक लगायो त ?

यो प्रश्न अहिले सबैको चासोको बिषय बनेको छ । यातायात व्यवस्था विभागमा दर्ता नभइ सञ्चालन भइरहेको भन्दै प्रहरी प्रशासन र सरकारी अधिकारीहरुले मोटरसाइकलमा यात्रु बोक्न बोक्ने टुटल र पठाओलाई जरिवाना सहित रोक लगाएका हुन ।

तर यसको चौतर्फी बिरोधपछि प्रधामन्त्री ओलीले सेवा सुचारु गराउन निर्देशन दिनुभयो ।

उपत्यकामा पठाओ र टुटल भन्ने दुई वटा एप्स मार्फत सदस्यता आह्वान गर्ने र संजालमा आधारित भएर मोटरसाइकलमा यात्रु बोक्ने व्यवसाय छोटो समयमा लोकप्रिय भएको थियो । यी एप्लिकेशनमा नौ दश हजारको संख्यामा सदस्य रहेको र दुई लाखको हाराहारीमा सेवाग्राही रहेको बताइएको छ । आफुहरुले कुनै पनि अबैध काम नगरेको टुटल कम्पनीको दाबी छ ।

ट्याक्सी व्यवसायीहरुको दवावमा सरकारी अधिकारीहरुले टुटल र पठाओमाथि कडाइ गरेको थाहा भएको छ । मोटरसाइकललाई भाडामा प्रयोग गर्न पाउँदा सामान्य आय स्तरका मानिसहरुले पनि रोजगारीको अवसर पाएका छन् भने यात्रुहरुलाई पनि कम भाडामा बजार वा कार्यालय जान–आउन सहज भएको छ । सरकारले यसलाई रोक्नु भन्दा प्रक्रियागतरुपमा अघि बढाउनु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्