बडिमालिका पर्यटनको लागि भू-स्वर्ग नै हो

0
66

नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, जैविक विविधतामा रमाउन, तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन । तिनै सम्पदाहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । नेपालका अधिकांश जिल्लाहरु पर्यटकीय दृष्किोणले महत्वपूर्ण मानिन्छन । हिमाली जिल्लामा रहेका त्रिपुरा सुन्दरी, मुक्तिनाथ, गोसाईकुण्ड, पाथीभरा लगायतका तीर्थाटन पर्यटकियस्थल जस्तै सुदूरपश्चिमको बाजुरामा रहेको बडिमालिका तीर्थाटन पर्यटन र प्राकृतिक दृटिकोणले महत्वपूर्ण गन्तब्य मानिन्छ ।

नेपालका हिमाली पर्वतहरु लोभलाग्दा दृष्यावलोकनले मात्रै महत्व नभएर उच्च पहाडी टाकुराहरु नेपालका पौराणिक कथा अलिखित इतिहास र पवित्र देव भूमीका रुपले पनि महत्व पाएका छन । त्यहि भूमी मध्यको हो वाजुराको बडिमालिका । पहाडको कठिन भिरको नागवेली उकालो ओरालो बाटो बर्षेनी हजारौको सख्यामा तीर्थाटनका पर्यटकहरु बडिमालिका पुग्ने गर्दछन । बडिमालिका पुग्ने मध्य केहि तीर्थाटनका पर्यटकहरुलाई मात्र थाहा हुन्छ तेत्रायुगको पौराणिक कथा श्री स्वस्थानी ब्रतकथा संग जोडिएको । बडिमालिकाको पुजा आजा कहिलेबाट सुरु भयो एकिन छैन । तर पनि पश्चिम क्षेत्रका वाईसे–चौविसे राज्य मध्य डोटी अछाम र जुम्लाका शासकहरु बडिमालिका पुग्ने गरेका थिए ।

बडिमालिकाको दर्शन गर्न पृथ्वी नारायण शाहले पनि सेना खटाउने गरेका थिए । राणा शासकहरुले पनि बडिमालिकाको दर्शन गरेको पाइन्छ । राणाहरु अछामी कुवरको वंशज भएकाले पनि बडिमालिका दर्शन गर्न रुचि राख्ने गरेको पाइन्छ । राणाकाल र त्यो भन्दा अगाडीकासेनाका कर्नेलहरुले बडिमालिकाको दर्शन गर्दा सुनको जनै चडाउने र जनै प्रसादको रुपमा आफैले लैजाने गरेको पाइन्छ । बडिमालिकामा राजा वीरेन्द्रले २०३६ सालमा सबै भन्दा ठूलो घण्ट चढाएका थिए । जुन घण्टलाई एउटा हातले हल्लाउन समेत कठिन पर्दछ । बडिमालिकामा अछाम, वाजुरा, डोटी कालिकोट र जुम्लाबाट प्रत्येक बर्ष सरकारी स्तरबाट पुजाआजा गर्ने प्रचलन छ । अछामको वैजीनाथबाट पाकेको धानको वाला सब भन्दा पहिला बडिमालिकालाई चढाउने गरिन्छ ।

समुद्री सतहबाट करिब ४२ सय मिटर उचाईमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन पैदलयात्रा गर्नु पर्दछ । विशेष गरी जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । बडिमालिकाको दर्शन गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ । बडिमालिकाको सुन्दरताको वर्णन गरेरै सकिन्न । पहिला खप्तड पुगेका पर्यटकहरु बडिमालिका पुगे भने प्रकृतिको तुलनानै गर्न सक्दैनन् । जुन कारणले बडिमालिका तीर्थाटन पर्यटकहरुका लागि भू–स्वर्गनै मानिन्छ । अग्लो पहाडमा दर्जनौं समथर फाँट, पहाडै भरी फूलले तीर्थाटनका पर्यटकहरुले मन लोभ्याउँछन् । पहाड माथी हरिया पाटन सेताम्मे भेडाका बथान, डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल समेत देख्न पाउदा तिर्थाटनका पर्यटक खुशि हुन्छन ।

बडिमालिकाको यात्रामा बाटामा देखिने मन्दिर, वन्यजन्तु, खोला, झरना आदिले मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छ । यात्रामा देखिने सुन्दर हिमाल, हिउँले ढाकेको बाटो मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् भन्दा पनि हुन्छ । बडिमालीकाको थप आकर्षक भनेकै विशाल फाँटहरु हुन् । बडिमालिका मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले सबै पर्यटकको मन तान्दछ । बडिमालिबाट हेर्दा बादल आफूभन्दा तल हुन्छ । बडिमालिकामा प्राकृतिक र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिवेणी, कालाजग्रा गुफाताल, दउने ताल लगायतका ताल रहेका छन । बुढीनन्दामा चट्टानै चट्टानको बीचमा ठूलो ताल छ ।

सुदूरपश्चिममा रहेका ७ बहिनी सबै तीर्थाटन भगवतीका मन्दिर हुन । बडिमालिका, शैलेश्वरी, उग्रतारा, निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई ७ बहिनी भगवती मानिएको छ । सात बहिनी भगवती मध्यमा बडिमालिकाको मन्दिर बाजुरामा पर्छ । बडिमालिका क्षेत्रमा ५ महिना हिउँ र ४ महिना कुहिरोले ढाक्ने गर्दछ । बडिमालिकाको परिसरअर्को अर्थमा भन्ने हो भने प्राकृति भ्यु–टावर पनि हो । मन्दिर परिसरबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा, डोटी, कालिकोट र मुगुलगायतका जिल्लाका अनगिन्ती गाउँ र प्राकृतिक सम्पदाको दृश्य देख्न सकिन्छ । बडिमालिका क्षेत्रमा हयिाली फाँटमा भेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु डाँफे, मुनाल, कस्तुरी, झारल आदि पनि भेटीन्छन् ।

बडिमालिकामा पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि तीर्थाटनका पर्यटकहरु अचम्म मान्ने गर्दछन । सुदूरपश्चिम संस्कृति रुपले पनि धनी मानिन्छ । यहाँको आफ्नै मौलिक रहनसहन, भेषभूषा, चाडपर्व र ऐतिहासिक महत्व बोकेका धार्मिक–सांस्कृतिक तथा पुरातात्विक स्थलले पनि पर्यटकहरुलाई लोभ्याउछ ।

बडिमालिका विदेशि पर्यटक कम मात्रामा पुग्दछन । बडिमालिका पुग्ने बाटो भिर पहरा र खानाबस्न को लागि सुरक्षित होटल नभएका कारण पनि विदेशि पर्यटक जाने गर्दैनन् । तर पनि छिमेकी मुलुक भारतबाट भने बडिमालिका धेरै तीर्थाटनका पर्यटकहरु प्रत्येक बर्ष पुग्ने गर्दछन । अर्को तर्फ बडिमालिकाको बारेमा प्रचार प्रसारको पनि कमी छ । अहिले प्रदेश नम्वर ७ ले बडिमालिका क्षेत्रलाई पर्यटनको विकास गर्न वाजुराको व्रह्मखोला देखि बडिमालिका सम्म केवुलकार निर्माण गर्न अध्यन गर्ने भएको छ । पर्यटन विकासको लागि यो कार्य सबैले रामे मानेका छन ।

बडिमालिका भगवतीको उत्पति
सतीदेवीको मृत्युपछि वियोगमा महादेव मृत शरिर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अंगहरु पतन हुँदै झर्दै खस्न थाले । यसरी सतिदेवीका अंगहरु पतन हुँदै खस्न थालेपछी जहाँ जहाँ सतिका अंग पतन भए त्यहाँ सिद्ध पिठ बन्दै गए । यसरी खस्ने क्रममा बाजुराको मल्लागिरी पिठमा सतीदेवीको बायाँ कुम पतन भयो । जुन कारणले त्यस ठाउलाई मल्लागिरी पिठ भनियो । पछि नाम अपभ्रमंश भई मालिका रहन गएको मानिन्छ । त्यसै मल्लागीरीलाई बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

साथमा के लैजाने ?
बडिमालिका यात्रामा मार्तडी देखि पैदल यात्रामा जहातहि खाना बस्नको लागि सुबिधा छैन । होटलको सुविधा नभएको स्थानमा कम्तीमा तीन दिन बास बस्नुपर्छ । त्यस कारण आफुलाई आवस्यक पर्ने न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि आफैँले बोक्नुपर्छ  । छाता अथवा रेन कोट छुटाउनै मिल्दैन । पानी कतिखेर पर्दछ थाहा हुदैन । लेक लाग्ने हुनाले खुर्शानी र अमिलो पनि लैजादा बेश हुन्छ । खानेकुरा र पानी सजिलै सबै ठाउ मिल्दैन । त्यसैले पानी र खानेकुरा छुटाउन हुदैन । पहाडको उचाईमा पुग्दा अर्थात यात्रामा मद्यपान, धुमपान नगर्नु राम्रो मानिन्छ । बडिमालिकाको यात्रामा भरिया र स्थानीय पथप्रदर्शक विना पुग्न कठिन छ  ।

कसरी पुगिन्छ बडिमालिका ?
त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा रहेको छ । बडिमालिका कोर्धको बाटो भएर जान वेश हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि पुगिन्छ सोता । मेलाको समयमा सोतामा चिया खाजा खान पाइन्छ । झण्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन । आधा घण्टा लामो रमणिय पाटन क्षेत्र पार गरेपछि अर्को एक घण्टाको ओरालो र उकालो । त्यसपछि भितो चिर्ना पुगिन्छ । भितो चिनाबाट करिव अढाई घण्टामा त्रिवेणी पुगिन्छ । त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिँडने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्न सकिन्छ । बडिमालिकामा त्रयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तीर्थाटनका पर्यटकहरु नाटयेश्वरीमा जनै पूर्णिमामा लाग्ने मेला भर्न हिँडछन् ।

बडिमालिका पुग्नका लागि भने यात्रा कष्टकरनै हुन्छ । बडिमालिका जान ठुला पहाडमा चढेर जानु पर्दछ । पहाडको उचाईका कारणले तीर्थाटनका पर्यटकहरुको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भएपनि यात्रामा भने रोमाञ्चक बन्ने गर्छ । जनैपूर्णिमा मेलामा अस्थायी पसलहरु पनि बाटोमा भेटिन्छन । बडिमालिकामा श्रावण शुक्ल त्रयोदशीका बिहानदेखि चतुदर्शी बिहानसम्म दर्शन गर्ने तीर्थाटनका पर्यटकहरुको निकै भीड लाग्ने गर्दछ । कठयांग्रिने चिसो र एकनास चलिरहने हावाका कारण बडिमालिकाको परिसरको चुुचुरोमा लामो समय बसन कठिन हुन्छ ।

त्रिवेणी
त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडिमालिकाको दर्शन गर्ने परम्परा छ । बडिमालिकाका मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाटयश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ । बडिमालिका माइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मीक विश्वास रहेको छ । जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीका दिन बडिमालिका लगायत वाजुराका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगाएतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पुजा गरिन्छ ।

वाजुराको नाम
बाजुराको नामको बारेमा रोचक प्रशगं जोडिएको छ । बाजुरा जिल्ला कुनैबेला सिजां हालको जुम्लाको अधिनमा थियो । त्यसबेला केन्द्रीय शासन सिजा हालको जुम्लाबाट संचालन गरिएतापनि शासकका प्रतिनिधिहरु वाजुरा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे । उक्त सहायक दरबारलाई कोट भनिन्थ्यो । तत्कालिन सिहदरबारका राजाको आदेश अनुसार वाजुरा दरबारबाट वाज चरा समातेर पठाउनु पर्दथ्यो । वाजलाई पासोमा हालेर समातिन्थ्यो । भाले बाजंलाई शाही वाज र पोथि वाजलाई झुर्रा वाज भनिन्थ्यो । एक पटक सिंहदरबारमा वाज पठाउन पासो थाप्दा पासोमा शाही वाज न परि झुर्रावाज पर्न गएछ । शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज सिंहदरबारमा पठाएछन । राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथीवाजको नाम “झुर्रावाज“ लाई उल्टोबाट बाझुर्राकोट राखेछन । त्यहि बाझुर्राकोट पछि अपभ्रश हुदै बाजुरीकोट हुन गएछ । बोल्ने क्रममा अपभ्रशं हुदै बाजुरीकोटको नामबाट बाजुरा रहेका पाइन्छ । अर्को भनाई अनुसार यो ठांउमा “बाजुगार्ड“ भन्ने नदिको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि बाजुरामा सुन्ने गरिन्छ ।

सुदूरपश्चिम अर्थात प्रदेश नम्वर ७ को वाजुरा जिल्ला जति दूर्गम छ, त्यति नै सुन्दर पनि । यहाँ पर्यटकीय सम्भावना बोकेका अथाह प्राकृतिक सम्पदा छन् । भौगोलिकरुपमा विकट भएपनि बाजुरामा रहेका पर्यटकीयस्थल रमणिय छन् । बाजुरा पुग्न कठिन यात्रालाई यहाँका सुन्दर प्राकृतिक सम्पदाले चटक्कै बिर्साइ दिन्छ । बाजुरामा नागबेली भएर बग्ने कर्णाली नदी, बुढिगंगा, मालागाड, बार्जुगाड, कोर्दिगाड, दानसागु, कवाडी, इकडिगाडले पुग्ने सबैलाई मोहित बनाई दिन्छ । बाजुरामा खप्तड ताल, छेडेदह, बुढिनन्दा ताल र कालाजग्रा गुफातालले प्राकृतिक मात्र नभएर धार्मिक महत्व पनि बोकेका छन् । बडिमालिका, बुढिनन्दा, नाटेश्वरी, बडालेख, सुनन्दा, स्वामी कार्तिक र दुनालेख लगायतका धार्मिक स्थलले बाजुरा पुग्ने तीर्थाटन पर्यटकहरुलाई भ्रमण गर्ने स्थल भएको छ ।

घुमफिर गर्न मन लाग्यो भने जो कोही पनि पर्यटक हुन सकिन्छ । मानीस स्वभावलेनै जिज्ञासु र घुमन्ते प्राणी हो । भ्रमण अनि अवलोकन बाटनै नयाकुरा जान्न सकिन्छ । यसरी देश, विदेश, समाज अनि सस्कृतिको अवलोकन गर्ने उदेश्यले घुमफिर गर्नु वा भ्रमणमा निस्कनुनै पर्यटन हो । पर्यटक तपाई हामीमध्य सबैजना हुनसक्छौ । विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देश भित्र पनि हामी नयाँ नयाँ ठाउमा गएर पर्यटन गर्न सक्दछौ । तर हाम्रा पर्यटनको क्षेत्र सहज, सुलभ र सुरक्षित छैनन् भन्दा पनि हुन्छ ।

प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउ जानुपर्दछ । त्यस्ता ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुदैन । सहज वाटो छैन र त्यसमाथी ति ठाउमा उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध पनि छैन । अहिले हामी नयाँ सोचका साथ पर्यटनका बारेमा कुरा उठाउने गरेका छौ । पर्यटन विकासको लागि अब सबै स्थानिय तहहरुले पुर्वाधारको विकास गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्