किन खाइन्छ चाकु अर्थात् नेपाली चक्लेट?

0
204

आज माघे संक्रान्ति। नेवार समुदायमा घ्यू, चाकु र तीलको लड्डु खाने दिन। अहिले यो चलन नेपालीको साझा बन्दै गएको छ।

यी खानेकुराको उत्पादन विधि र कथा जान्न हामी टोखा पुग्यौं।

चाकु टोखाको पहिचान हो। बाटोभरी चाकुको बासना पछ्याउँदै हामी एउटा उद्योगमा छिर्यौं। उत्पादक राजकुमार श्रेष्ठलाई माघे संक्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ थियो।

ठूलो फोसी (कसौडी आकारको तामाको भाँडा) मा सख्खर–पानी उम्लिइरहेको थियो। बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याइन्छ। चिसो हुन थालेपछि ढुंगाले कुट्नुपर्छ। त्यतिबेला यो दह्रो भएर चाकुजस्तै आकारमा आइसकेको हुन्छ। त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर सरसर तानिन्छ। यसरी तान्दा चाकु मस्याइलो हुन्छ।

यसरी किला झुन्ड्याएर तान्ने काम केही वर्षयता मात्र सुरु गरिएको त्यहाँ काम गरिरहेकी आशाकुमारी श्रेष्ठले बताइन्। त्यसअघि अथल (माटोको बाटाजस्तै भाँडा) मा सख्खर–पानी फिट्ने गरिन्थ्यो। फिट्न गाह्रो हुने भएकाले किलामा झुन्ड्याएर तान्न थालिएको हो।

 

चाकु जति तान्दै गयो, कालो सख्खर उति सुनौलो रंगमा परिणत भइरहेको थियो। तान्ने काम सकिएपछि तौलेर आकार दिइन्छ। चारपाटे, गोलो, सामान्य डल्लो आकारका चाकुमा नरिवल, काजु लगायत मिश्रण टाँसेर एक समूहले प्याकिङ गर्दै थियो।

माघे संक्रान्तिको अर्को मुख्य परिकार कालो तीलको लड्डु बनाउने विधि पनि यही हो।

राजकुमारका अनुसार चिसो भइसकेको लेदो सख्खरलाई तीलमा खन्याउनुपर्छ। त्यसपछि हातले गोलाकार बनाउँदै तीलको लड्डु तयार गरिन्छ।

उनको उद्योगमा सेतो लड्डु पनि बन्छ। यसको निम्ति सख्खरको सट्टा चिनी उमालिन्छ। ढुंगाले कुट्ने र किलामा झुन्ड्याएर तान्ने विधि उही हो। चिनीको सेतो डल्लामा बाहिर सेतै तील टाँसिएको हुन्छ।

तीलको लड्डु माघे संक्रान्तिमा मात्र माग भए पनि चाकुको भने जाडो यामभरि नै हुन्छ। जाडोबाहेकका महिनामा भने अर्डरअनुसार मात्र उत्पादन गरिने राजकुमारले जानकारी दिए।

हामी २५ वर्षदेखि चाकु उत्पादन गर्दै आएका बुद्ध श्रेष्ठको उद्योग पनि पुग्यौं।

‘गत वर्षभन्दा चाकुको माग दोब्बर भएको छ। तर, सख्खर र दाउरा सहज रूपमा पाइँदैन,’ उनले भने, ‘त्यसैले मागअनुसार उत्पादन गर्न सकेका छैनौं।’

उनका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो। अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ।

‘मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ। स्पेसलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ। यसले सामान्यभन्दा स्पेसल चाकुको मूल्य अलि महँगो हुन्छ,’ उनले भने।

‘नेपाली चकलेट’ नामले प्रसिद्ध चाकु माघे संक्रान्तिमा खाने चलन किन भयो त?

संस्कृतिविद् ओम धौभडेल यसमा वैज्ञानिक कारण रहेको बताउँछन्।

‘चिसो मौसमले मानिसको स्वास्थ्यमा समस्या आउन थाल्छ’, धौभडेलले भने, ‘माघ महिनामा चाकु खाँदा शरीर तातो हुन्छ। रोगहरूसँग लड्ने शक्ति पनि दिन्छ।’

पुस महिनामा हुने यःमरि पुन्हिमा नेवार समुदायले चाकुको यःमरि खाने चलन छ। मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको धौभडेलले बताए।

‘यःमरि पुन्हिमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो,’ धौभडेलले भने, ‘माघे संक्रान्तिमा भने काँचो घ्यू र चाकु खाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ।’

‘उहिलेउहिले बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो। त्यसैले, हाम्रा पुर्खाहरूले चाकु खाने चलन ल्याएका हुन्,’ उनले भने।

माघे संक्रान्तिका दिन नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाउने गरिन्छ। धौभडेलका अनुसार आफ्नै घरपरिवारसँग मात्र यो पर्व मनाउनुपर्ने विश्वास रहेको हुँदा ज्वाइँलाई भने बोलाउने चलन छैन। आजभोलि यो चलन केही फेरिएको छ।

अन्य समुदायमा पनि माघे संक्रान्ति आ–आफ्नै ढंगले मनाइन्छ। भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ। त्यस्तै, थारू समुदायले ‘माघी’ भनेर मनाउँछन्। बाहुन-क्षत्रीले तीलको लड्डुका साथै विभिन्न खाले तरूल पनि खाएर मनाउने गर्छन्।

 

प्रतिक्रिया दिनुहोस्