आबुधाबीमा परे १ सय ५० जना नेपाली अलपत्र

0
57

युएई : आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत १ सय ५० जना नेपाली अलपत्र परेका छन् ।  कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका हुन् । तीमध्ये १ सय  सय ५० जना नेपाली छन् ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।
अलपत्र परेकाहरु एउटै कोठामा २१ जनासम्म सुतिरहेका छन् भने कतिपय साथीभाईको सहयोगमा क्याम्पबाहिर बसिरहेका छन् ।  बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ ।
अलपत्र परेका धेरैले विगत ९ महिनादेखि तलब पाउन सकेका छैनन् । कतिपय कामदारहरु कम्पनीमा कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरिसकेका छन् ।
अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका हुन् । १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।

९ महिनादेखि तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसेबापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।

अलपत्र परेका झापा ८ भद्रपुरका नारायण गुरुङले भने  ‘मासिक तलब पाएनौं, मुद्दा गर्यौँ, गएको असोज १८ गते आबुधावीको नेपाली दूतावासमा पुगेर समस्याबारे मौखिक जानकारी गराएका थियौं, अहिलेसम्म कुनै पहल भएन’ ।  मौखिक जानकारी गराउँदा पहल नभएपछि एक हप्ता पहिले लिखित निवेदन दिएर दूतावास धाइरहेको पीडितहरुले बताए ।
यसैगरी, त्यहाँ अलपत्र परेका कामदारलाई भारतीय दूतावास र भारतीय संघसँस्थाले दैनिक खाना उपलब्ध गराउँदै आएको छ । भारतीय कामदारलाई दिएको खाना अरु देशका कामदारले समेत बाँडेर खाने गरेको नवलपरासी अरुणखोलाका युवराज खडालुकले बताए ।

‘मंगलबार दिउँसो क्याम्पमा पानी बिजुली समेत काटिएको छ, खानाको समस्या त थियो, पानी बिजुली पनि काटियो’ सुर्खेतका बिष्णुप्रसाद कोइरालाले भने।

कम्पनीमा आएका सबै कामदार नेपालबाट सीतापाइलामा रहेको सन हिल्स म्यानपावरबाट युएई आएका हुन । सनहिल्स म्यानपावरका संचालक सूर्य अधिकारीसँग पनि सम्पर्क गरिरहेको, तर सहयोग नपाएको पीडितहरुले बताएका छन् । ‘हामी यहाँ समस्यामा परेका छौं, नेपालबाट फेरि यही कम्पनीमा अरु कामदार पनि ल्याइँदै छ भन्ने सुनेका छौं, पोखरा बागमराका रामजी पौडेलले भने ।

यसैगरी, युएईका लागि कार्यवाहक राजदूुत सागरप्रसाद फुयाँलले  यसको समाधानको लागि गम्भीर भएर लागेको बताएका छन् । दूतावासले बुधबारनै कम्पनी व्यवस्थापनसँग छलफल गरेको, तर सकारात्मक जवाफ नआएकोले कुटनैतिक प्रयास थालिएको राजदुत फुयाँलले बताए .

प्रतिक्रिया दिनुहोस्