Home » सरोज केसी कास्की क्षेत्र नं. १ बाट सचिवका उम्मेदवार

सरोज केसी कास्की क्षेत्र नं. १ बाट सचिवका उम्मेदवार

by newnagarikdiary
0 comment

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले आसन्न महाधिवेशनमा कास्की क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा –२६ सिलिङ्गेस्थित बिपी कुञ्ज स्मृति पार्क पुगेर बुधबार एक कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । केसी हाल मादी गाउँपालिकाका जनप्रतिनिधि सार्वजनिक लेखा समितिका सभापति एवं प्रदेश १ (ख) को सचिवसमेत हुन् ।

दोस्रो जनआन्दोलन २०६३÷०६३ ताका विद्यार्थी आन्दोलनका चर्चित नेता केसीसँग एक सय दिनभन्दा बढ़ी आस्थाको बन्दी जेलजीवन, ५० औं पटक गिरफ्तार र चोटपटकको अनुभव छ ।

पीएन क्याम्पस स्ववियु निर्वाचनमा सभापतिका प्रत्यासी केसी नेविसंघ कास्कीका सचिव, उपसभापति हुदै नेविसंघ केन्द्रीय सदस्य भएर लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील भएका छन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीका सुपुत्र सरोजमा बालमस्तिष्कमै लोकतन्त्रप्रति वैचारिक मन्थन र संघर्षको विजारोपण भएको पाइन्छ । अनि आफूले सिंगो मुलुक र नागरिक विकासमा लाग्ने सोच बनाएको बताउँछन् ।

आफू कक्षा ९ मा काठमाडौंमा अध्ययन गरिरहेका बेला जनयुद्धका नाममा आफ्ना पितालाई तत्कालीन विद्रोही समूह माओावदीले खुट्टा भाँचेर मर्यो भनी फालेपछि बालमस्तिष्कमै अशान्ति र युद्धको अन्त्य राजनीतिबाटै गर्ने अठोट लिएका हुन् । त्यही अठोटका कारण घरमै वीपीका समाजवाद र विश्व कम्प्युनिष्ट इतिहास अध्ययन गर्न थाले । सिर्जनात्मक आन्दोलन र युवापुस्ताका रोलमोडल मानिने उनी चाकडी चाप्लुसीबाट टाढा छन् । अधिकार प्राप्तिको आन्दोलनका मुद्दा उठान गर्ने मात्र नभै समस्या समाधानमा समेत उत्तिकै क्रियाशील हुन्छन् । राजनीतिलाई पेसा बनाउनु हुन्न भन्ने केसी व्यवसाय गरी ५० जना बढीलाई रोजगार दिएका छन् ।

पारिवारिक पृष्ठभूमि पूरै राजनीतिक रहेर मात्रै नभै केसीको शैली जीवनको बाल्यकालबाटै फरक छ । विरासतबाट नभै संघर्षबाट राजनीतिमा स्थापित केसी समाजसेवाबाट प्राप्त आत्मसन्तुष्टि संसारकै उत्कृष्ट खुसी रहेको बताउँछन् । राजनीति सरलरेखा र यसका खेलाडीसमेत असल नरहेको जानकार हुँदाहुँदै यस प्रवृत्तिलाई परिवर्तन र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न युवापुस्ता एक हुनुपर्ने उनको जोड छ ।

कास्कीको दुर्गम र सुगमका हिसाबले दुईखाले विकासे नीति अवलम्बन गर्नुपर्ने, असारेबजेट खारेज र राजनीतिक नेतृत्व अस्थायी भए पनि विकास र समृद्धिको खाका निर्माण गरेमात्रै विकास र परिवर्तनले स्थायित्व लिने उनको अनुभव छ । जिल्ला सचिवका दावेदार मानिएका उनी क्षेत्रीय सचिवको उम्मेदवार हुँदा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

तल्लो तहदेखि कार्य अनुभव गर्दै आएका उनी राजनीतिमा बिस्तारै अघि बढ्ने र पालो युवापुस्ताकै रहेकोमा दुईमत नरहेको बताउँदै महत्वकांक्षी नभै अनुभव र दक्षताले मात्र नेतृत्व क्षमता बढ्नेमा विचार राख्छन् ।

उनका चुनावी प्रतिबद्धताअन्तर्गत मातहत कार्यालयलाई डिजिटल प्रविधिमैत्री बनाउने, केही फुल टाइम कार्यकर्ता परिचालन गर्ने, नजिकै आएको स्थानीय निकाय निर्वाचनका लागि अहिले नै स्थानीय तहका उम्मेदवार तय गरी निर्वाचन केन्द्रित हुनुपर्ने, मातहतका ३० वटै इकाइमा तत्काल कार्यालय स्थापना गरी मासिक बैठक र गतिविधि गर्न लगाउने, मादी र रूपाका केही क्षेत्र अत्यन्तै दुर्गम भएकाले दुईखाले विकासेनीति अवलम्बन गर्ने, भ्रस्टाचार, ढिलासुस्ती, प्राकृतिक साधनको दुरुपयोगमा आफ्नै सरकार भए पनि खबरदारी गर्ने लगायत रहेका छन् ।

Related Articles

Leave a Comment