Home » पाकिस्तानमा शक्तिशालि बम बिस्फाेट कम्तिमा ५९ जनाकाे मृत्यु १५० भन्दा धेरै घाईते

पाकिस्तानमा शक्तिशालि बम बिस्फाेट कम्तिमा ५९ जनाकाे मृत्यु १५० भन्दा धेरै घाईते

by newnagarikdiary
0 comment

पाकिस्ताको पेशावरमा एक शक्तिशाली बम विस्फोटन हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ।

घटनामा परेर १५० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो करिब १:३० बजेतिर मानिसहरू भरिभराउ एक मस्जिदमा उक्त विस्फोट भएको थियो।

मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रको यो मस्जिदमा आत्मघाती कसरी प्रवेश गरे भन्ने कुरा स्पष्ट भएको छैन।

बम बिस्फोटपछि उक्त भवनको एउटा भाग ध्वस्त भएको छ। अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ। घाइते भएका कैयौंलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।

पेशावरको मुख्य सरकारी अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार मृत्यु हुनेको संख्या ५९ रहेको छ भने अन्य १५७ जना घाइते भएका छन्। केही गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ।

मस्जिद, सेमिनार र धार्मिकस्थललाई लक्षित गर्ने आफ्नो नीति नभएको भन्दै प्रवक्ता खुरासानीले त्यस्ता कार्यहरूमा भाग लिनेहरूलाई टीटीपीको नीति अन्तर्गत दण्डनीय कारबाही हुने बताए। यसैबीच प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन्। ‘मानव त्रासदीको यो घटना अकल्पनीय छ। यो पाकिस्तानमाथिको आक्रमण भन्दा कम छैन’, प्रधानमन्त्री शाहबाज शरीफले भने।

उनले पेशावरमा घाइतेहरूलाई अस्पताल पुगेर भेट्नुका साथै बम विष्फोटमा संलग्नलाई कडा कारबाही गर्ने वाचा गरे। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरुको पीडा शब्दमा बयान गर्न नसकिने बताए ।

गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए। सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १५० जनाको ज्यान गएको थियो।

Related Articles

Leave a Comment