Home » चितवनमा ओलीको गर्जन यिनीहरुलाई धोवीले लुगा पछारेझैं पछार्नुपर्छ

चितवनमा ओलीको गर्जन यिनीहरुलाई धोवीले लुगा पछारेझैं पछार्नुपर्छ

by newnagarikdiary
0 comment

नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत सिट जित्ने गरी तयारी गर्न पार्टी पंतिलाई निर्देशन  दिएका छन् ।। नेकपा एमालेलाई धाकधक्कु लगाउन नभएर देश बनाउनका लागि चुनावमा वर्चश्व चाहिएको उनले बताए । ‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सिट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,’ उनले भने । एमालेले चितवनमा महाधिवेशन गर्ने भन्नासाथ अरु पार्टीहरु छट्पटाएको भन्दै ओलीले कटाक्ष गरे ।

‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं, उखानमा सेरोफेरो सबै मेरो भनेजस्तो, मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा ! चितवनमा महाधिवेशन गर्ने कौन सा ठूलो कुरा भयो ? हामीले पहिले बुटबलमा महाधिवेशन गर्‍यौं । नेपालगंजमा गर्‍यौं । जनकपुरमा गर्‍यौं । अहिले किन छटपटी ?’

महाधिवेशन गरे पनि नगरे पनि चितवनमा एमाले नै जित्ने ओलीले ठोकुवा गरे ।

उनले भने, ‘महाधिवेशन गरेर मात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’ अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे ।

‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुई-तीनपटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् । झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को-को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यसो वर्तिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उनले भने ।

ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गरे । पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने उनको दावी छ ।

एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उनको आरोप थियो ।

‘४० लाई २० प्रतिशत झारियो । र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,’ उनले भने, ‘किनभने कुनै वैधानिक र सही बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।’

‘राम जन्मभूमि यहीँ हो । अयोध्यापुरी यही ठाउँमा छ । ठोरीमै हो । नजिक सीता अन्तरध्यान भएको देवघाट छ । रामायण लेखिएको वाल्मिकी आश्रम त्यहाँ छ । त्यस्तो ठाउँमा हामी आएका छ‌ौं । अघिल्लो चुनावमा म पनि दुईपल्ट आएँ, तर यस्तो पवित्र स्थामा के काँधमा बोकेर ल्याएछु, आफैं छक्क पर्छु । देखिदेखि त्यस्तो मान्छेलाई कस्ता-कस्ता मान्छेलाई बोकेँ ।’

‘अलिअलि यस्तो पनि भयो होला, कांग्रेसले छोरी बोक्या देखेपछि लौन त भनेर हामीले पनि कांग्रेसले अलि बढ्तै फुर्ति लायो क्या छोरी बोकेर । तिमीहरु छोरी बोक्छौ भने हामी बाउ नै उठाइदिन्छौं भन्यौं । तर अब हामीले अब त्यसप्रकारका कुनै गल्ति गर्नु हुँदैन ।’

चितवनले कम्तिमा एमालेका ३ जना संघीय सांसद र ६ जना प्रदेश सांसद जिताउने गरी काम गर्न उनले निर्देशन दिए ।

‘यस जिल्लालाई म धेरै दुख दिने पक्षमा छैन । तीनवटा सांसद चाहियो माथि । ६ वटा प्रदेशसभा सदस्य चाहियो । त्यति दिनुहुन्छ ? महानगरमा प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु चाहियो ।’

आफूहरु मतपत्र च्यातेर वा धाँधली गरेर नभइ जनताकाले पवित्र भोटले जित्ने ओलीले बताए ।

‘हामी बत्ति निभाएर, मतपत्र च्यातेर वा धाँधली गरेर होइन, जनताको पवित्र मतले जित्ने हो । सिंहदरबारको मुलगेटबाट पस्छौं, गल्लीबाट होइन । रातिराति होइन, दिउँसो घाम लागेका बेलामा राजमार्ग हुँदै आउँछौं । फेरि कसैले मतपत्र च्यात्छु भन्छ भने त्यस्तो सपना नदेखे हुन्छ । जनताले नेकपा एमालेलाई दिएको एउटा पनि भोट खेलवाड गर्न दिइँदैन । जनताको मत च्यात्नका लागि होइन । कुनै पनि मूल्यमा एमालेले जनमतको कदर गर्छ । जसलाई दिएको भए पनि ।’

नेपाल प्रेस बाट साभार

Related Articles

Leave a Comment