Home » एमाले महाधिवेशन सकिए पछि सुनसान बन्यो सौराहा,महाधिवेशन सौराहाको पर्यटनको लागि कोसेढुंगा

एमाले महाधिवेशन सकिए पछि सुनसान बन्यो सौराहा,महाधिवेशन सौराहाको पर्यटनको लागि कोसेढुंगा

by newnagarikdiary
0 comment

गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशनले यहाँको

पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा

अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । उनले भने, “सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।” रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय

सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उनले भने, “एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।” यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडाले बताए । मंसिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो । त्यसो त मंसिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताए ।

उनले भने, “नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।” महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले यो महाधिवेशन नभएको भए गत एक हप्ता सामान्य अवस्थामै बित्ने बताए । संघका अध्यक्ष दीपक भट्टराईले एमाले नेता कार्यकर्ता सबै फर्किएपछि सौराहा सुनसान भएको बताए । उनले भने, “कता कता एकान्तमा रहेजस्तो भएको छ ।”

सामान्य चहलपहल भए पनि महाधिवेशनमा अत्यधिक भीडभाड भएकाले अहिलेको उपस्थिति सामान्य लागेको छ । उनको भनाइमा सौराहामा दैनिक १० हजार नेता कार्यकर्ता बसेका थिए । जसले गर्दा कपाल काट्ने शैलुन, चिया पसलदेखि ठूला होटलसम्म सबैको व्यापार राम्रो भएको उनको भनाइ छ । उनले भने, “सौराहामा मात्रै रु २० करोडको व्यापार भएजस्तो लाग्छ ।” यसले अब सौराहाले जस्तोसुकै ठूलो कार्यक्रम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ ।

व्यवस्थापनमा सुरुका दिनमा कठिन भए पनि व्यापार हुँदै जाँदा व्यवसायीमा उत्साह जागेको भट्टराईले बताए । काठमाडौँ फर्किनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीलाई डाकेर उनीहरुको गुनासो सुनिसकेपछि आश्वासनसहित धन्यवादसमेत दिएको भट्टराईको भनाइ छ । उनले भने, “हामीलाई हौसला प्राप्त भएको छ ।” महाधिवेशन अवधिमा रु एक अर्ब हाराहारीको कारोबार भएको पार्टीको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए ।

पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ । देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै रु ५० करोड हाराहारी खर्च गरेको भन्दै उनले अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको उनले बताए ।

महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ । समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले बताए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनले प्रचारात्मक काममा निकै सहयोग पुगेको बताए । एमाले नेता कार्यकर्ता फर्किएसँगै सुनसान बनेको सौराहामा प्रतिनिधिले धेरै घुम्ने मौका यस पटक नपाएका कारण पुनः आउने अपेक्षा गरिएको उनको भनाइ छ । सौराहाको पर्यटकीय महत्वका बारेमा स्वदेश र विदेशमा सन्देश प्रवाह गर्न महाधिवेशन सफल बनेको छ । आगामी दिनमा यसले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा व्यवसायीले राखेका छन् । (रासस)

Related Articles

Leave a Comment