Home » विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

by newnagarikdiary
0 comment

जेठ २६ पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले दुई – दुई वर्षमा प्रदान गर्दै आइरहेको शिरोमणि पुरस्कार २०७८ नेपाली काव्यकला क्षेत्रका विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदानदिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।

वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेलीयुवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६ औं आर्ट बाइनाले बङ्गलादेश, कलाकार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिताजनाएका छन् ।

नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृतिहो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाजउत्सव’काव्य कृतिप्रकाशनको तयरीमा छन् ।

काव्य र कला क्षेत्रमा विगत चार दशकदेखि सिर्जनात्मक काम गरेका श्रेष्ठ दर्जनौं पुरस्कार, मानसम्मान र पदकबाट विभूषित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदान गरिएको हो ।

प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सह–सचिव शिव त्रिपाठी रहेका थिए । राष्ट्रिय स्तरमा साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदानदिने एक जना स्रष्टालाई प्रदान गरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रिय स्तरको पुरस्कार हो ।

यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलि मियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरूभक्त, देवी प्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसकेका छन् ।

असार ४ गते शनिबार पोखरामा एक कार्यक्रमका विच प्रदान गरिने पुरस्कारको राशी नगद १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

Related Articles

Leave a Comment