Home » मालढुंगा–बेनी सडक स्तरउन्नती सुरु

मालढुंगा–बेनी सडक स्तरउन्नती सुरु

by newnagarikdiary
0 comment

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने मालढुंगा–बेनी सडक खण्ड स्तरोन्नति गरी दुई लेनको बनाउने काम सुरु भएको छ ।

१३ किलोमिटर दूरीको उक्त सडक निर्माण भएको दुई दशक बितिसक्दा पनि स्तरोन्नति भएको थिएन । साँघुरो र जीर्ण सडकका कारण यात्रु र सवारी साधनहरूले सास्ती भोग्दै आएका थिए ।

पर्वतको मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

यो सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ ।

२०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको सञ्चालक अमृत दाहालले बताउनुभयो ।

हाल कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने गरी काम आगडि बढाइएको बेनी जोमसोम कोरोला सडक आयोजनाका प्रमुख अश्विनीकुमार यादवले बताउनुभयो ।

२०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

यसैगरी आयोजनाको तातोपानी–गलेश्वर खण्डमा पनि काम भइरहेको छ । दशैं–तिहारपछि गलेश्वर देखि तातोपानी सम्मको सडकमा कालोपत्रेको काम गर्ने योजना रहेको यादवले बताउनुभयो ।

म्याग्दीको दानामा पर्ने काभ्रे भीरमा विष्फोटक पदार्थ  प्रयोग गरेर भीर काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नतिपछि मुक्तिनाथ जाने यात्रुहरूलाई सहज हुनुका साथै एक घण्टाको यात्रा ४० मिनेटमा छोटिने भएको छ ।

Related Articles

Leave a Comment