Home » पोखराका सडकबाट छाडा चौपाया हटाउन शुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान चलाइँदै

पोखराका सडकबाट छाडा चौपाया हटाउन शुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान चलाइँदै

by newnagarikdiary
0 comment

जेठ २७ पोखरा । पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् ।

उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको छ । शुक्रबारपनि यो अभियान जारी रहने वरिष्ट कानुन अधिकृत शर्माले जानकारी दिए । ‘मेयरसावको निर्देशन अनुरुप पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राखेका छौं । शुक्रबार पनि यो अभियान जारी रहन्छ । यो अभियानमा नगरप्रहरी विहान चार बजेबाट नै खटिएको छ’ उनले भने ।

यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिलसाईडसंगै रहेको गौशालामा हाल १५०को हारारहारीमा छाडा चौपाया छन् । करिव ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ट कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडाहुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।

यसैबीच पोखरामा शुक्रबार बाट ढल र नाला सफाई अभियान सुरु हुनेभएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्तरूपमा ढलहरू सफा गर्ने अभियान शुक्रबार सुरु हुनेभएको हो । तीन दिनसम्म चल्ने उक्त अभियानमा साथ दिन संघ सस्थाहरु र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् ।

पोलिथिनजन्य पदार्थबाट भएको फोहोरको कारणले अत्याधिक वर्षाका बेला ढल बूझिनुका साथै बाटोमा पानीको बहाव बढी भई दुर्घटना समेत हुनेगरेको भन्दै ढल तथा नालाको सरसफाईमा जुट्न नगरवासीलाई उनले आह्वान गरेका हुन् । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट आरम्भ हुनेछ । अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतको सहभागिता रहनेछ ।

Related Articles

Leave a Comment