Home » पहिरोबाट दम्सादी गाउँ जोगाउन तत्काल काम गर्छौं : मेयर आचार्य

पहिरोबाट दम्सादी गाउँ जोगाउन तत्काल काम गर्छौं : मेयर आचार्य

by newnagarikdiary
0 comment

जेठ २३ पोखरा । पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले वडा नम्बर २१ मा रहेको दम्सादीको बस्तीलाई नै जोखिममा पार्नेगरी फुर्सेखोलामा गएको पहिरोको रोकथामका लागि तत्काल काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार स्थानीय वडाध्यक्ष र महानगरका कर्मचारीसहित पहिरो स्थल पुगेका उनले पहिरो अवलोकन गर्दे यस्तो प्रतिवद्धता जनाएका हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल, वडा नम्बर २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदी, वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही, पूर्वाधार विकास महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ र अन्य कर्मचारीसहित मेयर आचार्य पहिरो स्थलमा पुगेका थिए । तत्काल सकिनेजति काम गर्र्ने प्रतिवद्धता जनाएका उनले बस्तीलाई जोगाउनु पहिलो प्राथमिकता रहेको बताए । ‘बस्ती जोगाएर नागरिकको सुरक्षा गर्नु र धनजनको सुरक्षा गर्नु आफूहरु (महानगरको) पहिलो कर्तव्य हो । यसका लागि के गरेर हुन्छ तत्काल काम गरिहालौं ।’ मेयर आचार्यले निर्देशन दिँदै कर्मचारीलाई भने, ‘तत्काल प्राविधिक रुपमा स्टमेट गरेर काम अगाडि बढाई हालौं । ढिलो भयो भने अहिलेको वर्षाले झनै क्षति पुग्ने देखियो । त्यसपछि दीर्घकालिन रुपमा के गर्न सकिन्छ त्यो गर्दै गरौंला ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले थप क्षति हुन नदिन तत्काल काम थालिने बताए । उनले फिर्केखोलाको कटान रोक्न तत्कालिन र दीर्घकालिन दुबैढंगले काम गरिने बताए ।

दम्सादी गाउँको नजिकै तीनतिरबाट पहिरो गएको छ । दम्सादीको बस्तीदेखि उत्तर–पश्चिम तर्फ वडा नम्बर १७ बाट खसेको चट्टानसहितको पहिरोले फुर्सेखोला बस्ती तर्फ डाइभर्ट हुँदा बस्ती जोखिममा रहेकाले यसलाई तत्काल हटाउन आवश्यक रहेको वडा नम्बर २१का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताए । ‘तत्काल पहिरो गएर बीचमा बसेको चट्टानसहितको ढिस्को हटाउन सकेपनि अहिलेलाई पार्नीको बहावले डाँडा काट्ने जोखिम कम हुने भन्दै काम सुरु गरिहाल्नुपर्नेमा जोड दिए ।

स्थानीय माधव भण्डारीका अनुसार फुर्सेखोलाले डाँडा काटे बस्ती जोखिममा परेपछि सक्नेहरुले गाउँ छाडिसकेका छन् । अन्यत्र सर्न नसक्नेहरुमात्र अहिले बस्तीमा बस्न बाध्य भएको उनले बताए । ‘हामी जहिले पानी ठूलो पर्छ त्यहीले राति जाग्राम बस्नुपर्ने अवस्था छ । यस अगाडि पनि पटक पटक बस्ती जोगाउन आग्रह गर्दै महानगर धाएका हौं । तर, हाम्रो सुनुवाई हुन सकेन’ उनले भने ।

फेवा पावर हाउस नजिकै भएर पोखरा १७ जोड्ने झोलुंगे पुल खोलाको कटानले पहिरो जाँदा भत्किसकेको छ । दाम्सादीको बस्तीको दक्षिण पूर्वतर्फ पनि पहिरो गएको छ । यसैबीच मेयर आचार्यले वडा नम्बर १७ को वडा कार्यालयको पनि सोमबार अबलोकन गरेका छन् । उक्त अवसरमा वडा १७ बाट निर्वाचित जनप्रतिनिधिसंग वडाका समस्याका बारेमा उनले जानकारी लिए ।

Related Articles

Leave a Comment