Home » पर्वतको मोदीमा साढे चार वर्षदेखि चिस्यान केन्द्र अलपत्र

पर्वतको मोदीमा साढे चार वर्षदेखि चिस्यान केन्द्र अलपत्र

by newnagarikdiary
0 comment

पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधीन चिस्यान केन्द्र ( कोल्ड स्टोर) विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष ०७३/७४ सालमा रु ५ करोडको लागतमा निर्माण सुरु भएको चिस्यान केन्द्रले पूर्णता पाउन नसकेको हो । बेमौसममा सुन्तला र आलु लगायत फलफूल र तरकारीलाई बजारमा पठाउने गरी रु.५ करोड रुपैयाँ लागत अनुमान गरी चिस्यान केन्द्र निर्माणको अवधारणा ल्याइएको थियो । २ तलाको चिस्यान केन्द्र निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको

चिस्यान केन्द्र एक तला बनेपछि अलपत्र बनेको छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिएपनि अहिले अपूर्ण संरचना समेत जीर्ण बनेको छ । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा

हमाल दम्पतीको ७ आना १ दाम जग्गा रु.१३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । हमाल दम्पती दिन गन्दै बसिरहनुभएको भएपनि त्यस्ता जेठ १५ अहिलेसम्म ४ वटा गइसकेका छन् । न जग्गा पास भएको छ न रकम नै पाएका छन् । निर्माण समिति अध्यक्ष गंगा तिमिल्सिनाले इस्टिमेटअनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउनुभयो । तिमिल्सिनाका अनुसार सुरुको वर्ष रु.५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर रु. २४ लाखभन्दा आएन ।

पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भएपनि रकम निकासा नआएपछि समस्या भएको उनको भनाई छ । दुई तले चिस्यान केन्द्र निर्माणकार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ । बनेको संरचना पनि अहिले खण्डहर बनेको छ । समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो । देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्र हो । अहिले ४०–५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान रहेका छन् ।

चिस्यान केन्द्र निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशालाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्तै बनाउने तयारी भएको बताउनुभयो । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि रु.५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकोले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधा सम्पन्न चिस्यान केन्द्र बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको पौडेलले बताउनुभयो ।

पर्वत जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका चिस्यान केन्द्रमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । चिस्यान केन्द्र निर्माणका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग रहेको छ ।

Related Articles

Leave a Comment